काठमाडौं ।
सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारीको नियुक्तिका विषयमा भएको विवादबारे आज निर्णय सुनाउँदै छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
संवैधानिक निकायमा भएको नियुक्तिको विवादमा गत ३० माघ देखि सोही इजलासमा सुनुवाइ भएको थियो । १ जेठमा इजलासले १६ जेठ भित्र बहस नोट पेस गर्न आदेश दिएको थियो । त्यस्तै २८ जेठमा निर्णय सुनाउने भनेर तोकेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी गरिएका नियुक्तिविरूद्ध रिट दायर भएको थियो । अध्यादेश र नियुक्तिविरूद्ध वरिष्ठ अधिवक्ताहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले छुट्टाछुट्टै रिट दिएका थिए ।














