काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, ४ कारोबारी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको टोखामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सोही समूहका थप दुई जना कारोबारी पनि पक्राउ परेका छन् । उनीहरूलाई भने गोली लागेको छैन ।

उनीहरूलाई नियन्त्रणमा लिनेक्रममा दुई प्रहरी पनि घाइते भएका छन् ।लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

  • २७ जेष्ठ २०८२, मंगलवार १६:३७ प्रकाशित