सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभामा भइरहेको अवरोध खुलाउन सत्तारुढ दल नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव अघि सारेको छ । शुक्रबारदेखि भइरहेका द्विपक्षीय वार्तापछि कांग्रेसले आइतबार साँझ मध्यमार्गी प्रस्ताव अघि सारेको हो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेले मध्यमार्गी प्रस्ताव तयार गरी भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गरिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग सहमतिका लागि प्रस्ताव गरेका हुन् ।

कांग्रेस नेता कार्कीले आफूहरू सहमतिका लागि विपक्षी दलहरूसँग प्रस्ताव पेस गरेको जानकारी दिए ।

कार्कीका अनुसार कांग्रेसले अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका निमित्त गर्नुपर्ने कामबारे सुझाव दिन समिति बनाउने भन्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको हो ।

कांग्रेस नेता कार्कीले आफूहरूको प्रस्तावमा प्रतिपक्षी दलहरू सकारात्मक रहेको बताए पनि प्रतिपक्षी दलहरू भने प्रतिनिधिसभा बैठक अघि प्रतिपक्षी दलहरूको बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

  • २६ जेष्ठ २०८२, सोमबार १२:४५ प्रकाशित