न्यायको जित र अन्यायको हार हुन्छ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायको जित हुने र अन्यायको हार हुने बताएका छन् । शनिबार मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई अदालतले न्याय दिने उल्लेख गरे । ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने बताए । हिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उनले डराउनु पर्ने आवश्यक नभएको बताए ।

‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो । हामी भाग्ने होइन’, उनले अघि भने, ‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’

कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको उनको भनाइ छ । पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

  • २४ जेष्ठ २०८२, शनिबार १४:४५ प्रकाशित