यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र कास्की

सेवाग्राहीको भिड, तर छैनन् दरबन्दीको आधा कर्मचारी

४० जनाको दरबन्दीमा २० जना मात्रै कर्मचारी, कम्प्युटर अप्रेटरले गर्ने काम गर्छन् कार्यालय सहयोगी

गोविन्द सुवेदी

पोखरा ।
दैनिक झण्डै दुई हजार सेवाग्राहीले सेवा लिने यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र कास्कीमा कर्मचारीको अभावले सेवा नै प्रभावित भएको देखिएको छ । बिहिबार कार्यालयमा सेवाका लागि लाइनमा भेटिएका पोखरा ५ पस्र्याङ बस्ने डोलेन्द्र ढकाल आफू कार्यलयमा आएको ६/७ घण्टा भएको तर काम गर्न नपाएको गुनासो गरे ।

रि–ट्रायलको लागि राजस्व बुझाएर फारम बुझाउन लाइन बसेका उनले राजसव बुझाउन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिनुपर्नेमा आलटाल भइरहेको भन्दै आक्रोस पोखे । ‘म ६/७ घण्टादेखि लाइनमा छु । मजस्तै यो घाममा धेरैजना यसरी लाइनमा बसिरहनुभएको छ । हामी सरकारलाई राजस्व बुझाउन आएकाहरुलाई यसरी दुख दिन मिल्छ ?’ उनले प्रश्न गरे ।

त्यस्तै हेमजाबाट आएका रमेश शर्माले सेवाग्राही नै कता बसेर सेवा लिने भन्ने नै समस्यामा रहेको गुनासो सुनाए । ‘लाइन लामो छ । एउटा लाइन बसेर बल्ल बल्ल अब काम हुन्छ भन्ने बेला यहाँ होइन अर्कोमा जानुस भन्छन् । अनि फेरी त्यहाँ उस्तै’ उनले भने ।

सेवाग्राहीको चाप अत्याधिक रहेको तर, कर्मचारी संख्या थोरै हुँदा समस्या भएको ं कार्यलयका सुचना अधिकृत विष्णु थापाले स्विकार गरे । उनका अनुसार कार्यालयमा अस्थायी करारसहित ४० जनाको दरबन्दी हो । १६ बैशाखदेखि अस्थायी करारमा रहेका ७ जना कर्मचारीको करार अबधि समाप्त भएपछि उनीहरु बाहिरिएका र उनीहरुको ठाउँमा अन्य कर्मचारी मन्त्रालयले नपठाएको उनले बताए । उनका अनुसार ३३ जना कर्मचारीको स्थायी दरबन्दी भएपनि कार्यालयमा १७ जना स्थायी कर्मचारी छन् । दैनिक दुई हजारको हाराहारीमा आउने सेवाग्राहीलाई आलोपालो गरेर आफूहरुले सकेसम्म सेवा दिइरहेको उनले बताए ।

कार्यालय स्रोतले दिएको जानकारी अनुसार तीन जना कार्यालय सहयोगीलाई समेत कम्प्युटर अप्रेटरले गर्नुपर्ने काममा लगाइएको छ । जसले गर्दा भोलि कुनै कैफियत देखिए त्यसको अपजस बेहोर्नुपर्ने भयसमेत कर्मचारीमा छ । ‘कार्यालय सहयोगीको काम सरसफाई गर्ने, फाइलहरु सम्बन्धित शाखामा ल्याउने लैजाने हो । तर, उनीहरुलाई कम्प्युटरको जिम्मा दिइएको छ । भोलि केही कमी कम्जोरी भए जिम्मा कसले लिने प्रश्न छ । त्यति मात्र होइन कम्प्युटर अप्रेटरले गर्नेकाम कार्यालय सहयोगीले गर्दा स्वभाविक रुपमा केही ढिलासुस्ती हुने नै भयो’ ती कर्मचारीले भने ।

कार्यालय सहयोगीलाई नै कम्प्युटर अप्रेटरको जिम्मा लगाइएको बारे जिज्ञासा राख्दा कार्यालय प्रमुख मिलन बहादुर केसीले कार्य सम्पादनलाई सहज बनाउन एउटा फाँटमा कार्यरत कर्मचारीलाई अर्को फाँटमा खटाइएको भन्दै घुमाउरो जवाफ दिए । कार्यालय प्रमुख केसीले कर्मचारी अभाव बारे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा मात्र नभएर प्रमुख सचिवसम्म लिखित र मौखिक गुनासो गर्दा समेत समस्या समाधान नभएको बताए । ‘कर्मचारी अभाव भयो । झ्याल झ्यालमा कर्मचारी राख्नुपर्छ । दरबन्दीको आधा कर्मचारीले सेवा दिन अप्ठ्यारो भयो भनेर मन्त्रालय र प्रमुख सचिवज्युलाई समेत लिखित र मौखिक आग्रह गरेँ । अझ अघिल्लो महिना मात्र दुईजना कर्मचारी पठाइदिएर यतिको सहज भएको हो । नत्र अवस्था झन खराव थियो,’ उनले भने ।

यता भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीले भने यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र कास्कीमा कर्मचारी अभावकै कारण सेवाप्रवाहमा समस्या रहेको अस्विकार गरेको छ । सात जना कर्मचारीको करार अबधी थप्न स्रोत नभएको प्रतिक्रिया दिएको मन्त्रालयले काम नै भने नरोकिएको दाबी गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं उपसचिव प्रेम सुवेदीले आफू कार्यालय प्रमुखको सम्पर्कमै रहेको भन्दै सेवा नै प्रभावित हुनेगरी कर्मचारी अभाव नभएको दाबी गरे । । ‘म कार्यालय प्रमुखसंग सम्पर्कमै छु । कर्मचारी अभावले सेवाप्रवाहमा कुनै समस्या छैन । एउटा फाँटबाट अर्को फाँटमा पुगेर सेवा दिनु सामान्य हो’ उनले भने ।

  • २२ जेष्ठ २०८२, बिहीबार १९:०३ प्रकाशित