संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल बिना निष्कर्ष सकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबिचका छलफल बिना निष्कर्ष सकिएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतकबिच संसद्को अवरोध खुलाउनेबारे छलफल भएको रास्वपा उपसभापति डा‍‍.वाग्लेले जानकारी दिए ।

‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबिच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्ना धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ,’ डा। वाग्लेले  भने, ‘कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’

उनले भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपाका माग यथावत् रहेका बताए । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

कांग्रेसले भने गृहमन्त्रीविरुद्ध कुनै पनि आरोप नलागेकाले सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ ।

  • २२ जेष्ठ २०८२, बिहीबार १६:११ प्रकाशित