आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष नमानेपछि आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ ।

अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने संकेत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो एक बजेका लागि बोलाएका छन् ।

तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने बताइरहेका छन् । तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन ।

दलहरूसँग अनौपचारिक छलफलमै रहे पनि सभामुख घिमिरेले समस्या समाधानका लागि अहिलेसम्म औपचारिक बैठक बोलाएका छैनन् । संघीय संसद् सचिवालयका महासचिव पद्मराज पाण्डेयले सभामुख घिमिरेले औपचारिक बैठक नबोलाएको जानकारी दिए ।

मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग भए पनि एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका थिए ।

  • २१ जेष्ठ २०८२, बुधबार १२:१० प्रकाशित