पोखरा ।
पोखरा महानगरपालिकाले आगामी दुई वर्ष भित्र महानगर भित्र खाली जग्गा, सडक छेउ, डिभाइडर, खोला किनार, पार्क एवं घर कम्पाउण्डमा समेत गरेर २ लाख २६ हजार विरुवा रोप्ने भएको छ । बुधबार विहान पोखरा २५ को हेमजामा राजमार्गको डिभाइडरमा विरुवा रोपेर यसको सुरुवात गरिएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रवक्ता मोतिलाल तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई महानरका सम्बन्धित महाशाखा र शाखाका प्रमुखसहित नागरिक अभियान्ता रामबहादुर पौडेलले एकसाथ विरुवा रोपेर यसको शुभारम्भ गरेका हुन् । ५३ औं विश्ववातावरण दिवसको अवसर पारेर ‘ग्रिन पोखरा क्लिन पोखरा’ अभियान अन्तरर्गत दुइलाख २६ हजार विरुवा रोप्ने घोषणासहित सुरु भएको कार्यक्रम अन्तर्गत हेम्जादेखि फेदीसम्म मात्र २० मिटरको फरकमा एक हजार १०० विरुवा रोपिनेछन् ।
बृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै महानगरका प्रमुख धनराज अचार्यले अबको दुई वर्षभित्र दुई लाख २६ हजार उपयोगी विरुवा रोपने घोषणा गरे । उनले रोपिएको विरुवालाई संरक्षण गर्नेगरी अभियान च लाइएको बताए । वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको प्रमुख आचार्यले धारणा राखे ।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उनले कुन ठाउँमा कस्ता रुख रोप्ने भन्ने अध्ययन गरिएको चर्चा गरे । प्रमुख आचार्यले खाली जमिनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षणपनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए । उनले रुखलाई आफ्नो बाबुनानीलाई जस्तै गरेर हुर्काउनुपर्ने चर्चा समेत गरेका छन् ।
पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले रुख रोपेर मात्र नहुने भन्दै संरक्षण गरेर हुर्कने सुनिस्चित गरिनुपर्ने बताइन् । यसका लागि महानगरले समुदायसंग सहकार्यको नीति लिएको उनको भनाई छ । विश्व वातावरण दिवशको महत्वको चर्चा गरेकी उनले बृक्षरोपण वातावरण सन्तुलनसंग सम्बन्धित रहेको बताइन् ।
महानगरका प्रवक्ता एवं वडानम्बर २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले बृक्षारोपण जस्तो महत्वपूर्ण अभियानको सुरुवात आफ्नै वडाबाट गर्न पाएको बताए । उनले स्थानीय समुदाय सबै मिलेर अब भाइरल रोडको रुपमा परिचित हेम्जा सडक खण्डलाई हरियाली सडकको रुपमा विकास गर्र्नुपर्नेमा जोड दिए ।
नागरिक अभियान्ता एवं नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले पोखरा महानगरको बृक्षारोपण अभियानमा आफूहरु र समुदायस्तरबाट समेत साथ हुने बताए । उनले ठाउँ हेरेर त्यस अनुरुपको विरुवा रोप्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा पोखरा महानगरपालिकामा एमाले दलकी नेतृ एवं वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगी, पोखरा महानगरपालिका कांग्रेस दलका उपनेता एवं वडा नम्बर २७ का वडाध्यक्ष पूर्ण गुरुङ र महानगरका इन्जिनियर नेत्र तिमिल्सिना लगायतले वृक्षारोपणको महत्वको बारेमा बोलेका थिए ।
भूपि शेरचन राजमार्ग अन्तर्गतको उक्त सडकको डिभाइडरमा वेगमवेली जातको ५००, धुपी २५०, र कल्की जातको ३५० गरेर एक हजार १०० विरुवा रोप्ने कार्यक्रम छ ।














