काठमाडौं ।
पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ । सोमबार इस्लामाबादस्थित घरमै गोली हानेर उनको हत्या गरिएको हो ।
बीबीसीका अनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले गोली हानी सनाको हत्या गरेका हुन् । सनाकी आमाले प्रहरी स्टेसनमा दिएको उजुरीअनुसार उनको छातीमा दुईवटा गोली लागेको थियो । पाकिस्तानमा टिकटकरको हत्या भएको यो पहिलो घटना होइन ।
यसअघि पाकिस्तानको पञ्जाबमा टिकटकर इकरा आजमको आफन्तले नै हत्या गरेको समाचार सार्वजनिक भएको थियो । सनाको स्थायी घर खैबर पख्तूनख्वा प्रान्तको चित्राल जिल्ला हो तर उनी केही समयदेखि परिवारसँग इस्लामाबादमै बस्दै आएकी थिइन् । टिकटकमा उनलाई ८१ हजारले पछ्याउँछन् । सोमबार मात्र उनले आफ्नो जन्मदिनको भिडियो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।















