नेपाल–भारत समन्वय समिति बैठक: सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

केन्द्रभाग मिडिया

पर्सा ।

नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार वीरगन्जमा सम्पन्न नेपाली र भारतीय सुरक्षा अधिकारीको सिमाना जिल्ला समन्वय समितिको बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् । बैठकमा दुवै मुलुकबीच अन्तरदेशीय अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि एकापसमा सूचना आदानप्रदान गर्ने प्रतिबद्धता अधिकारीहरुले व्यक्त गरेका छन् ।

बैठकमा सीमावर्ती भारतको विहारमा हुन लागिरहेको आसन्न विधानसभाको निर्वाचनको शान्ति सुरक्षाको विषयमा भारतीय पक्षले आफ्नो अपेक्षा समेत राखेको थियो । त्यसमा नेपाली पक्षले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

बैठकमा कोभिडबाट हुन सक्ने सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कताका विषयमा पनि छलफल भएको थियो । नक्कली मुद्राको अपचलनको विषयमा पनि दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा पनि छलफल भएको थियो ।

  • २० जेष्ठ २०८२, मंगलवार १५:४७ प्रकाशित