स्याङ्जा।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्नको नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी प्रथम भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा प्रशासन कार्यालय स्याङ्जा प्रथम भएको हो ।
यस अघिको मुल्याङ्कनमा स्याङ्जा २७ औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव २५ अंक प्राप्त गर्दै प्रथम भएको हो ।
आर्थिक बर्ष २०८१-०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा प्रथम स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए ।
मन्त्रालयले प्रत्येक आवको त्रैमासिक अवधिको कार्य मूल्याङ्का आधारमा प्रतिवेदन सार्वजनिक गर्दै आउने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरूमा मन्न्त्रालयले मुल्याङ्कन गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिक अवधिमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल थिइन् भने तेस्रो त्रैमासिकको अधिक समय नेपाल र छोटो समय वर्तमान प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल रहेका छन् ।
पुर्व प्रजिअ नेपाल जिल्ला रहदा प्रशासनिक कार्यमा गरेको कार्यसम्पादनको नागरिकस्तरबाट पनि प्रशंसा गरिन्थ्यो । नदीजन्य उत्खन्न र विपद् व्यवस्थापनमा नेपालले खेलेको भुमिका निकै राम्रो थियो भने बालवालिका क्षेत्रमा पर्ने असरहरुका बारेमा नेपालले पालिकास्तरमा पुगेर प्रशिक्षण समेत गरेकी थिइन् । जसले गर्दा बच्चाको जन्मदर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरु हल गर्न सफल भएकी थिइन् ।
नेपालको सरुवापछि स्याङ्जाको प्रजिअका रुपमा ईश्वरीप्रसाद अर्याल कार्यरत छन् । अर्यालले पनि छोटो समयमा प्रशासनबाट हुने कार्यसम्पादनमा नागरिकमैत्री सेवाका कारण प्रशंसित भएका छन् । नागरिक प्रशासनबाट काम समेर फर्कदा हाँसेर फर्कनुपर्छ भन्ने मान्यता राखेर काम गर्न प्रजिअ अर्यालले कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।













