कलाकार घनश्याम गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गएराति निधन भएका हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका बिहान ९ बजेदेखि १० बजेसम्म पशुपति आयघाटमै राखिएको थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेत्री निर्देशक दीपाश्री निरौला, वरिष्ठ कलाकार रवीन्द्र खड्का, मदनदाश श्रेष्ठ, राजु केसी र सानापर्दाका थुप्रै कलाकर्मी पुगेका थिए । अन्तिम श्रद्धाञ्जलीमा कलाकर्मीले उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर बिदाइ गरेका छन् ।

श्रद्धाञ्जली दिन पशुपति पुगेका अधिकांश कलाकर्मीले उनको अभिनय र योगदानको चर्चा गरेका छन् । उनको आजै अन्त्येष्टि गरिएको छ ।करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित गौतमको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।

दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।

  • २० जेष्ठ २०८२, मंगलवार १०:४४ प्रकाशित