काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ ।
बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए ।
विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे ।














