पोखरा ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै सार्वजनिक यातायात व्यवसायीले थालेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ । व्यवसायीको आन्दोलनले यातायात क्षेत्र तनावग्रस्त बनेको छ ।
सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको विरोधमा तीन दिनदेखि गाडी थन्क्याएर विरोधमा उत्रेका छन । जसका कारण यात्रुहरूलाई सास्ती थपिएको छ ।
गत चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको थियो । व्यवसायीले नियमावली खारेजको माग गर्दै शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पार्दै आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन राखेका छन । सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
‘रहरले आन्दोलन गरेको होइन । आन्दोलनमा जान बाध्य बनाइएको हो,’ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले भने, ‘राइड सेयरिङ र प्रविधिको हामी विरोधी होइनौँ । तर कानुनबाहिर गएर प्रदेश सरकारले यस्तो नियमावली ल्याउन मिल्दैन ।’ निजी प्रयोजनमा दर्ता भएका सवारी साधनलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिन नहुने उनको भनाइ छ ।
खासगरी सवारी ऐन २०४९ अनुसार निजी सवारीले भाडाका यात्रु बोक्न दिनुमा उनीहरूको असहमति छ । संघीय ऐन विपरीत प्रदेश सरकारले अधिकार नाघेर नियमावली ल्याएको केसीले बताए ।
यता प्रदेश सरकार पनि नियमावलीबाट फिर्ता नहुने अडानमा छ ।















