पोखरा ।
आन्तरिक पर्यटक बोलाउन पश्चिम नेपाल तर्फ प्रस्थान गरेको पोखराका पर्यटन व्यवसायीको एक टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रवद्धनात्मक अन्तरक्रिया एवं अबलोकन भ्रमण गरेर पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समितिको टोलीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धनका विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गरेर शुक्रबार विहान पोखरा फर्केको हो ।
‘पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित भएको प्रर्वद्धनात्मक कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले जानकारी दिए । भ्रमणका क्रममा लमही होटल व्यसायी समिति, कपिलबस्तुका होटल व्यवसायी, देउखुरीका होटल व्यवसायी, तुलसीपुरका होटल व्यवसायी, कोहोलपुरका होटल व्यवसायी, होटल अर्गनाईजेशन वर्दिया, गुरिया नगरपालिका, बर्दियाका पत्रकारसंग भेटघाट कार्यक्रम गर्दै नेपालगञ्ज, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी हुदै स्वर्गद्वारी नगरपालिकासंग अन्तरक्रिया गर्दै टोली पोखरा फर्किएको हो ।

त्यस क्रममा पोखरा प्राकृतिक र सबै हिसाबले देशकै अत्यन्त महत्वपूर्ण पर्यटकीय स्थल रहेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न आफूहरु पोखरा घुमघामको कार्यक्रम लिएर आउने ति ठाउँका पर्यटन व्यवसायी र जनप्रतिनिधिले प्रतिवद्धता जनाएका उनले बताए ।
सोमबार विहान नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले गरेको विदाई पस्चात सुरु भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायी, स्थानीय सरकार, उद्योग वाणिज्य संघ र पत्रकारहरुसंंग अन्तरक्रिया भएको थियो । देशकै पर्यटकीय राजधानी घोषित पोखरालाई पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको छ ।
यस अबसरमा पोखराका होटल र रेष्टुरेण्टहरुमा २० प्रतिशत छुट दिइएको र पोखराका अरु पर्यटन संघसंस्थाले समेत विभिन्न प्याकेजमा छुटको घोषणा गरेका छन् । यस विषयमा समेत भ्रमणको अबसरमा जानकारी दिइएको पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले जानकारी दिए ।
समितिकी सल्लाहकार एवं होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय सदस्य सुनिता पन्त पौडेलले आफूहरुको प्रर्वद्धनात्मक भ्रमणले पोखराका साथै सिंगो गण्डकी प्रदेशकै प्रर्वद्धनमा सघाउ पुगेको बताइन् ।
गत वर्ष पृथ्वी होटल व्यवसायी समितिले सम्पूर्ण सदस्य होटल व्यवसायीहरूसंग सहकार्य गर्दै बाग्मती, मधेस र कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूमा अध्ययन भ्रमण तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।














