काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेबहादुर बीच भेटवार्ता भएको छ । भेटवार्तामा गृहमन्त्री रमेश लेखकले राजिनामा दिन नपर्ने भन्दै विपक्षी दलहरूलाई संसद बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गृहमन्त्री लेखक समेत सहभागी थिए ।
बैठकमा संसद बैठक सञ्चालन र विपक्षीका मागका विषयमा छलफल भएको थियो।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ । एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’
हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको उनले बताए।
‘प्रमुख प्रतिपक्षीकै मागका कारण हिजो संसद स्थगित भयो,’ उनले भने, ‘तर, आज हामी अगाडि बढ्ने कुरामा उहाँहरुले सहयोग गर्नुपर्छ ।
आर्थिक सर्वेक्षण आज पेस गर्नैपर्ने हुन्छ। भोलि बजेट ल्याउनुपर्नेछ। गृहमन्त्रीज्यूले बोल्छु भन्नुभएको छ, संसदमा उठेको कुरा प्रस्ट पार्छु भन्नुभएको छ। उहाँलाई बोल्ने वातावरण बनाउन प्रतिपक्षीले सहयोग गर्नुपर्छ । बोल्न नदिने कुराका लागि भूमिका खेल्ने कुरा राम्रो हुँदैन ।’














