बर्दिया ।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षण गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपम बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दे उनले यस्तो बताएका हुन् । उनले पश्चिम नेपालका पर्यटक र भारतीय पर्यटकलाई समेत पोखरा भित्र्याउन पोखरा र नेपालगञ्ज बीच कम्तिमा दैनिक दुई वटा हवाई उडान हुनुपर्नेमा जोड दिए । नेपालगञ्ज र पोखरामा अहिले हप्तामा दुई उडान हुनेगरेको छ ।
गुलरिया नगरपालिकाको मात्रै ८३ किलोमिटर क्षेत्र भारतीय सिमानासंग जोडिएको भन्दै भारतबाट आउने पर्यटक पोखरा जान सक्ने र पोखरा आएका पर्यटक बर्दिया आउन सक्ने उनको टिप्पणी थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले पोखरा अत्यन्त मनमोहक क्षेत्र रहेको र बर्दियामा पनि धेरै नै पर्यटकीय क्षेत्र रहेको जानकारी दिइन् । आआफ्नो विशेषता बोकेका दुबै पर्यटकीय क्षेत्र बीचको सहकार्यले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा थप सहयोग मिल्ने अपेक्षा राखिन् ।
गुलरीया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुकुन्द अर्यालले भारतीय पर्यटकको चासो नै पोखरा र मुक्तिनाथ हुने गरेको जानकारी दिए । भारतको अयोध्या र मथुरालाई पोखरा र मुक्तिनाथ जोड्नुपर्ने बताए । उनले हिमाल हेर्न पोखरा किन नजाने र गैंडा हेर्न बर्दिया किन नआउने भन्दै त्यसका लागि दुवैपक्षको सहकार्यको खाँचो रहेको औंल्याए ।

पृथ्वी होटल व्यवसायी समितिका अधयक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको र त्यसलाई सफल पार्न आफूहरुले पोखरा आन्तरिक पर्यटक बोलाउन आएको जानकारी दिए । उनले पोखराका आवास र खानामा २० प्रतिशत र साहसिक खेल (प्याराग्लाईडिङ, बन्जिीजम्प)मा १० प्रतिशत छुटको घोषणा गरिएको जानकारी दिए ।
कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरे, होटल अर्गनाईजेशन वर्दियाका अध्यक्ष संगिता थापा, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे लगायतले उक्त अवसरमा पर्दीया र पोखराको पर्यटन प्रर्वद्धन लगायतका विषयमा बोलेका थिए ।
पृथ्वी होटल व्यवसायी समिति का भ्रमण संयोजक विदुर ढुंगानाले ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै अयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोग गरेका हुन् ।
सोमबार विहान पोखराबाट देशका पश्चिम भागमा आन्तरिक पर्यटक बोलाउन निस्केको टोलीले सोमबार नै लमही होटल व्यसायी समिति र कपिलबस्तुका होटल व्यवसायीसंग छलफल गरेको थियो ।
होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तका अनुसार मंगलबार विहान देउखुरीका होटल व्यवसायी समिति र तुलसीपुर होटल व्यवसायी समिति, दिउँसो कोहोलपुर होटल व्यवसायी समितिसंग छलफल गरेको छ । साँझ होटल अर्गनाईजेशन वर्दियासंग अन्तरक्रिया गरेको टोली नेपालगञ्ज, गुलरिया, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी र स्वर्गद्वारी पुगरे पोखरा फर्कनेछ ।















