कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति कास्कीको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले पोखरामा पर्यटक पठाउन सहकार्य गर्ने बताइन् ।
देशकै पर्यटकीय राजधानी सहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको चर्चा गरेकी उनले आफूहरुले आन्तरिक भ्रमणमा जोड दिएको र त्यसका लागि सबैभन्दा उपयुक्त स्थल पोखरा रहेको बताउने गरेको उल्लेख गरिन् । त्यसैगरी पोखरा आउने अन्य ठाउँका पर्यटकलाई पनि कपिलवस्तु भ्रमणका लागि प्रेरित गर्न उनले आग्रह गरेकी छन् ।

उनले भारतीय पर्यटकले ट्राफिक चेकजाँचमा अनेक झण्झट भोग्नु परेको गुनासो गर्नेगरेको जानकारी दिइन् । विदेशभन्दा स्वदेश घुम्नलाई प्राथमिकता दिनुपर्छ । उनले पोखरा भ्रमण वर्षलाई सफल पार्न आफ्नो स्थानीय तहले पोखरा भ्रमणका लागि अभिप्ररित गर्ने जानकारी दिइन् । उनले पोखरा भ्रमण वर्षको भव्य सफलताको शुभकामना दिइन् ।
होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तले शिवराज नगरपालिकाका जनप्रतिनिधि, व्यवसायी र स्थानीयलाई पोखरा भ्रमण गर्न निम्तो दिइन् । गर्मी छल्न र प्राकृतिक सौन्दर्यको अबलोकन गर्दै पोखरा जान आग्रह गरिन् । आफूहरु न्यानो आतिथ्यताका लागि तयार रहेको उनको भनाई थियो ।
पृथ्वी होटल व्यवसायी समितिका सल्लाहकार विक्रम थकालीले पोखरा विश्वकै सुन्दर सहर भनिने गरेको र पृथ्वी चोक र मूख्य सहरी क्षेत्रका हाेटल व्यवसायीहरुको संस्थाले पर्यटन प्रर्वद्धन गर्न आएको बताए । बाहीय भन्दापनि आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्रमा बढ्ता चहलपहल हुने गरेको बताए ।
पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले नेपालको पर्यटन सुस्त अवस्थामा रहेका बेला पोखरा महानगरपालिकाले अत्याधिक पर्यटक भित्र्याउन पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले व्यवसायी उत्साहित भएको बताए । उनले महानगरको पोखरा भ्रमण वर्ष घोषणालाई सार्थक बनाउन कार्यक्रम लिएर आएको बताए । पश्चिम नेपालको भावना र अनुभवलाई समेत समेट्ने उद्देश्य राखेको जानकारी दिए ।
शिवराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद बेलबासेले प्रकृतिले सुन्दर सहर पोखरा आफू धेरैपटक पुगेको र पुग्दा उतै बस्न मन लाग्ने गरेको अनुभव सुनाए ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले देशकै पर्यटकीय राजधानी पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउका लागि आन्तरिक पर्यटकलाई प्रर्वद्धन कार्यक्रम लिएर आफूहरु कपिलबस्तु आइपुगेको जानकारी दिए । उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आफूहरुले प्रर्वद्धनात्मक कार्यक्रमसहित आएको बताए ।
खाना तथा आवासमा २० प्रतिशत छुट गरिएको । साहसिक पर्यटकका लागि प्याकेजमा १० प्रतिशत छुट लगायतका छुट दिइएको जानकारी दिए । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन उनले पोखरा भ्रमणका लागि निम्तो गरे ।
पोखरा महानगरको धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नीति अन्तर्गत घोषित पोखरा भ्रमण वर्ष २०२५लाई सफल पार्न र पोखराको बारेमा जानकारी गराउन आफूहरुले प्रर्वद्धनात्मक कार्यक्रम लिएर आएको छ ।
अन्तरक्रिया कार्यक्रममा शान्ति स्थापना गृह कपिलबस्तुका अध्यक्ष भूमिराज भट्टराई, भ्रमण संयोजक विदुर ढुंगाना, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव पदम ढकाल र कोषाध्यक्ष लक्ष्मण न्यौपाने लगायतले उक्त अवसरमा पर्यटनका विभिन्न पक्षका बारेमा बोलेका थिए ।
पृथ्वी होटल व्यवसायी समिति का भ्रमण संयोजक विदुर ढुंगानाले ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै अयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोग गरेका हुन् ।














