पोखरा।
पोखरा महानगरपालिकाले महानगर भित्र रहेका ३३ वटै वडालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरेको छ ।महानगरपालिकाले आज पोखरामा एक समारोहको आयोजना गर्दै उक्त घोषणा गरेको छ ।
नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालिबालिकाहरुले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ ।
पोखरा महानगर ‘पूर्ण खोप सुनिश्चिता दिगोपना’को घोषणा गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगर भित्र भएका १५ महिना मुनिका १ लाख ४८ हजार ७ सय २५ बच्चा मध्ये कोही एक बच्चा पनि खोपबाट बञ्चित नभएको बताए ।
महानगरपालिकाले थालेको अभियानलाई साथ दिदैँ स्वास्थ्य स्वयमसेविकाले महानगरभित्रका ३३ वटै वडाका घरघरमा पुगी खोप लगाउनाले आज पोखरा पूर्ण खोप सुनिश्चितता भएको महानगर भनि घोषणा गर्न पाउनु महानगरको सफलता भएको आचार्यले भनाई राखे ।
आचार्यले पोखरा महानगरले पोखराभित्रका या भित्री बस्तीका होस् वा दुरदराजमा रहेका बालबालिकालाई खोप लगाइरहेको र यो प्रक्रिया निरन्तर रहने प्रतिवद्धता जनाए ।
नगर प्रमुख धनराज आचार्यले बालिबालिकाहरुको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने बताए । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।
समारोहमा महानगरकी उपप्रमुख मञ्जुदेवीले २०७५ साल असार २७ गते पहिलो पटक पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेको स्मरण गर्दै त्यस पश्चात यस अभियानलाई महानगरले निरन्तरता दिएको बताइन् ।
आफ्ना बालबालिकालाई खोप लगाउनु अभिभावकको दायित्व भएको भन्दै उपप्रमुख गुरुङले अभिभावकलाई जिम्मेवार र सचेत बन्न आग्रह गरिन् ।
समारोहको अध्यक्षता गरेका महानगरका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
महाशाखा प्रमुख पौडेलले आर्थिक वर्ष २०८०/८१ को खोप सम्बन्धि सुचनामा पोखरा पेन्टा १ नामक खोपको पहुँचदर १०३ प्रतिशत रहेको र पेन्टा १ भर्सेस दादुरा रुबेला दोस्रोको ड्रप आउट ९.७ प्रतिशत रहेको डाटा प्रस्तुत गर्दै पोखरा महानगर खोपको पहुँच र उपभोग दुवै दृष्टिले क्याटागोरी १ मा रहेको बताए ।
विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताए । अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
समारोहका प्रमुख अतिथि समेत रहेका प्रमखु आचार्यले ३३ वटै वडाको खोप समन्वय समितिलाई ‘पूर्ण खोप सुनिश्चितता’ भएको प्रमाणपत्र वितरण गरेका थिए ।
‘पूर्ण खोप सुनिश्चितता दिगोपना ’घोषणा समारोहमा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला, विश्व स्वास्थ्य संगठन आइ पि.डिका वलबिन्द्र चावला, खोप शाखा प्रमुख अभियान गौतम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशक खिम बहादुर खड्का लगायतले बोलेका थिए ।














