तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ आउँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जिपमा पाँच जना सवार थिए ।

ज्यान गुमाउनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा ज्यान गएको हो ।

घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा ल्याइएको छ।

  • ११ जेष्ठ २०८२, आईतवार १०:४७ प्रकाशित