पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश माओेवादी र प्रचण्डमय बनेको आफूले अनुभव गरेको बताएका छन् । मध्य पहाडी लोकमार्गमा गरिएको जनपरिचालन अभियान अन्तर्गतको पोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ जस्तै एक पटक देश माओवादीमय बन्दै गएको उल्लेख गरे ।
उनले तराई मधेश अभियान र मध्यपहाडी लोकमार्गमा आएपछि यो देशका बृद्धबृद्धा, युवायुवती र बालबालिका समेतले एक पटक माओवादीमय बनेको हेर्न चाहेको उनले जिकिर गरे । ‘एक पटक माओवादीमय प्रचण्डमय देश बन्न गएको मैले अनुभूति गरेँ । जुनसुकै पालिकामा जाँदा पनि कुन पार्टीले जितेको छ भन्ने नभई साझाढंगले अभियानलाई स्वागत भएको छ,’ उनले भने ।
१८ महिना गरेको काम र सरकारबाट बाहिरिएपछि जनतालाई गरेको अपिलले देश माओवादीमय बन्दै गएको उनले उल्लेख गरे । देशमा स्थायित्व र राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने उनले बताए ।
अहिलेको संविधानले राजनीतिक स्थायित्वलाई रोकेको उनको तर्क थियो । अहिलेको निर्वाचन प्रणाली ‘भांग्राको टोपीमा गुँएलाको फूल जस्तो छ’ उनले भने अब संविधान बनेको १० वर्ष भएको छ । समिक्षा गर्ने बेला आएको छ । अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’
अध्यक्ष प्रचण्डले अहिलेको संविधानले समाजवाद भनेपनि कस्तो समाजवाद नभनेकाले माओवादीको नेतृत्वमा त्यो प्रष्ट्याइने बताए ।
सोचे सम्झेर देशको स्थायित्व र रुपान्तरणका लागि माओवादी केन्द्रले नै पहल गर्नुपर्छ । रुपान्तरणको अभियान छेड्नुपर्छ भनेर । रपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ ।














