मनसुनअघि नै पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसदले मनसुनअघि नै विपद् जोखिमको आँकलन गरि न्यूनीकरण गर्न पूर्वतयारी थाल्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपद्‌बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा जोड दिए ।

विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए । विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहज रूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउँदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ ।

सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव दिए । विपद्‌का जोखिम भएका बस्तीका मानिसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि काम गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

कार्यकारी निर्देशक भट्टले आगामी मनसुनमा गत वर्षको भन्दा राम्रो पूर्वतयारी गर्ने र जोखिम न्यूनीकरणका प्रयास गरिने बताए ।

  • ८ जेष्ठ २०८२, बिहीबार १६:१६ प्रकाशित