उत्साहित प्याराग्लाईडिङ व्यवसायी, पुरानै लयमा फर्कने अपेक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका प्याराग्लाईडिङ व्यवसायी उत्साहित भएका छन् । पोखरा विमानस्थलको उद्घाटन हुनु केही अघिदेखि प्याराग्लाइडिङ उडानका लागि मान्द्रेढुंगाबाट तोरीपानी सरेकोमा बिहीबारबाट पुरानौ ठाउँ मान्द्रेढुंगाबाट उडान र खपौंदीमा अवतरण गर्न पाउने भएसंगै प्याराग्लाईडिङ व्यवसायी उत्साहित भएका हुन् । उनीहरुले अब प्याराग्लाईडिङमा पुराना खुशीका दिन फर्कने आशा समेत गरेका छन् ।

नेपाल हवाई खेलकुद एसोसिएसन (ना) र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको आयोजनामा बिहीबार पोखरामा आयोजित प्याराग्लाइडिङ उडान अभिमुखीकरण र पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका विषयक अन्तरक्रियामा सहभागीले पछिल्लो उपलब्धीले प्याराग्लाईडिङ र पर्यटन क्षेत्रमा नै नयाँ उत्साह थपेको उल्लेख गरेका छन् ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले समग्र पोखराको बिकासका लागि प्याराग्लाइडिङ महत्वपूर्ण प्रोडक्ट रहेको बताए । उनले सुरक्षाको दृष्टिकोणले सबै हिसाबले ठिक भएको प्रमाणित गर्न सक्नुपर्ने बउल्लेख गरे ।

अन्तर्राष्ट्रिय उडान र प्याराग्लाईडिङ संगसंगै अगाडि बढाउने उनको भनाइ छ । पोखरा भ्रमण वर्ष २०२५ ले पोखरामा पर्यटकीय गतिविधि बढेका उनले दाबी गरे । प्याराग्लाईडिङ व्यवसायमा आउने उत्साहको प्रभाव समग्र पर्यटन क्षेत्रमा पर्ने उनको भनाई थियो ।

व्यवसायमा अस्वभाविक अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्दै उनले पारदर्शी ढंगले अगाडि बढ्नुुपर्नेमा जोड दिए । पोखरा भ्रमण वर्ष २०२५ का कार्य सम्पादन संयोजक गोपीबहादुर भट्टराईले अब कनेक्टिभिटीमा जोड दिनुपर्ने उल्लेख गर्दै पोखरालाई विश्वभर चिनाउन प्याराग्लाइडिङबाट खिचिएका तस्बिरले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

पोखरा सुरक्षित छ भन्ने सन्देश दिनसक्दा नै यहाँको पर्यटन प्रर्वधनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । फरक प्रसंगमा उनले नेपाल पर्यटन बोर्डमा पोखरामा लगानी गर्ने र पोखरालाई बुझेको पात्रलाई नियुक्त गर्न आग्रह गर्दा नसुनिएको भन्दै उनले दुख प्रकट गरे । पोखरा पर्यटन परिसदका अध्यक्ष तारानाथ पहारीले २८ वर्ष अगाडि पोखरामा स्थापित भएको र अहिले अप्ठ्यारा परिस्थिति पारगर्दै यहाँसम्म आइपुगेको बताए । अबफेरी पोखरामा प्याराग्लाइडिङको सुखको क्षण आउने अपेक्षा प्रकट गरे ।

नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठीले तुलनात्मक लाभको क्षेत्र पहिचान गर्न सक्नुपर्ने बताए । उनले पोखराका प्रमुख धनराज आचार्यले यसको ऊनिसिएसन लिएको भन्दै प्रशंसा गरे । सरांकोट प्याराग्लाइडिङमा वश्वकै तेस्रो स्थानमा रहेको भन्दै यहाँको बिशेषता नै विशेष रहेको धारणा राखे । पोखरालाइ नै प्याराग्लाइडिङले प्रमुख पर्यटकीय गन्तव्य बनाएको उल्लेख गरे ।

अन्तरक्रिया गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, पोखरा १८ का वडा अध्यक्ष शिवराज तिमिल्सिना र पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पोखराको प्याराग्लाईडिङ व्यावसायलाई पुरानै लयमा फर्काउन मेहनत गर्न आग्रह गरे । नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाईडिङ पाइलट क्लबको पहलमा नेपाल नागरिक उड्न प्राधिकरणले उक्त स्थानमा अवतरण अनुमति दिएसंगै प्याराग्लाईडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ ।

उनीहरुले प्याराग्लाइडिङको उडान समयसमेत बढाइएका छन् । पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र उडान हुने गरेकोमा बिहीबारदेखि बिहान ११ दिउँसो साढे ४ बजेसम्म उडाउने उडाउने नाले जानकारी दिएको छ ।

विमानस्थल सञ्चालन पूर्व सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । प्राधिकरणले सुरक्षाको कारण देखाएपछि सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेर अवतरणस्थल खपौंदीबाट पामेमा बनाइएको थियो ।

जसका कारण प्याराग्लाइडिङ व्यासायमा गिरावट, पर्यटकमा अकर्षण कमी, प्यारापाइलट पलायनसँगै विविध समस्या देखिएको नेपाल हवाई खेलकुद संस्था (ना) का वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताए । लेकसाइडमा व्यावसाय गर्दै आएका ६३ कम्पनीमध्ये १० वटा विस्थापित भइसकेको उनले जानकारी दिए ।

पहिले दैनिक १ हजार पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा उडान र अवतरणस्थल सरेपछि १ सयजनामा सीमित हुन पुगेको उनले सुनाए । ४ सयको संख्यामा रहेका प्यारा पाइलट घटेर २ सय ५० मा झरेका तितो यथार्थ उनले प्रस्तुत गरे । प्राधिकरणको अनुमतिसँगै पुरानै ठाउँमा अवतरण हुँदा पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किनेमा उनी विश्वस्त छन् ।

बुधबार पोखरामा प्याराग्लाईडिङ पाइलटहरुको लागि प्राविधिक ज्ञान सहितको तालिम समेत प्रदान गरिएको नाका महासचिव बलराम आचार्यले बताए । तालिममा नाका प्राविधिक उपाध्यक्ष बिजय गौतमले एयरस्पेस सिमानाको बिषय, राष्ट्रिय खेलाडी एवं प्रशिक्षक बिमल अधिकारी सुरक्षाको बिषय र प्रमुख प्रशिक्षक योगेश बहादुर भट्टराईले अनुशासन सम्बन्धमा सहजीकरण गरेका थिए ।

  • ८ जेष्ठ २०८२, बिहीबार ०९:३३ प्रकाशित