देशको व्यापार घाटा साढे १२ खर्ब भन्दा बढी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएकोमा साढे १२ खर्ब बढी घाटा भएको हो ।

गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागको आज प्रकाशित तथ्यांकमा उल्लेख छ । गत वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ ।

वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको छ ।

विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

  • ७ जेष्ठ २०८२, बुधबार १६:२१ प्रकाशित