वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने जनाएको छ । श्रम स्वीकृतिको कार्यलाई अझ बढी चुस्त, दुरूस्त र प्रभावकारी बनाउन अनलाइनमार्फत आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको हो ।

अनलाइन सेवा कार्यालय समयभित्रै जारी हुने व्यवस्था गरिएको विभागका सहायक प्रवक्ता उपेन्द्र राज पौड्यालले जानकारी दिए । यसबाट सेवाग्राहीलाई निशन्देह रूपमा छिटो, छरितो र प्रभावकारी सेवा पाएको अनुभूति हुने विभागले विश्वास लिएको छ ।

विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई जनतालाई अधिकतम मात्रामा छिटो, छरितो, झन्झटरहित तरिकाले सेवा प्रवाह गर्ने नीति विभागले लिएको बताए।

वैदेशिक रोजगार व्यवसायलाई थप व्यावसायिक र मर्यादित बनाउन अग्रसर रहेको उनको भनाइ छ । यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले २ मिनेट ४४ सेकेन्डभित्र श्रम स्वीकृति जारी गर्ने व्यवस्था गरेका थिए ।

२०८० चैत २५ गते वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर उनले अबदेखि सबै प्रक्रिया पुरा गरेको खण्डमा २ मिनेट ४४ सेकेन्डमा नै श्रम स्वीकृति प्रदान गरिने दाबी गरेका थिए ।

कार्यालयले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने सबै कागजात पेस गरिसकेको २ मिनेट ४४ सेकेन्डभित्र पाइने बताएको थियो । तर, एक घण्टाभित्रको समयावधि तोकेर सेवा प्रवाह थालेको थियो ।

  • ७ जेष्ठ २०८२, बुधबार १६:११ प्रकाशित