नेकपा एसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित चैतबाट आन्दोलन सुरु गरेको नेकपा एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पछिल्लो सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो ।

महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् । वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा, धर्ना, विचारगोष्ठी, मागपत्र बुझाउनेलगायत छन् ।

जेठ महिनाको आन्दोलनले पार्टी पङ्क्तिलाई सम्पूर्ण रूपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

‘आन्दोलनकै क्रममा बाँकी प्रदेश, जिल्ला र पालिका अधिवेशनहरू पनि आयोजना गर्दै जानेछौ’, भुसालले भने, ‘सामान्यतया स् असार र साउन महिना ‘आन्दोलनद्वारा पार्टी निर्माण’ भन्ने मुख्य विषयमा पार्टीव्यापीरुपमा प्रशिक्षणहरू आयोजना गर्ने सोच पार्टी सचिवालयले बनाएको छ । भदौदेखि आन्दोलनको तेस्रो र अझ प्रभावकारी चरण सुरु गरिनेछ ।’

  • ७ जेष्ठ २०८२, बुधबार १६:०१ प्रकाशित