काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
बुधवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए ।
उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा बिचौलियाको कुरा धेरै चलेको बताए । उनले भने, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसर्थ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरू छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ती छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौँ व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् ।’














