पोखरा यातायात प्रालिले गर्यो लापसे र गापसे चेक गर्ने किट हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा ।
सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा यातायात प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कीट हस्तान्तरण गरेको छ । लागुपदार्थ सेवान गरेर सवारी चलाउँदा हुनसक्ने जोखिम न्युनिकरणका लागि भन्दै ट्राफिक प्रहरी प्रमुख सोभा पाण्डेलाई लापसे र गापसे चेकका लागि किट हस्तान्तरण गरिएको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए ।

व्यसायीले ट्राफिक प्रहरी कार्यालय कास्कीमै पुगेर ३३ हजार ३५० रुपैयाँ बराबरको किट हस्तान्तरण गरेका हुन् । लापसे र गापसे चेकजाँच गर्ने किट (एक्रो र्यापिड टेस्ट किट र टीएचसी टेस्ट किट) गरेर १७० थान हस्तान्तरण गरिएको हो । किट बुझ्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख सोभा पाण्डेले ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउनका लागि व्यवसायीबाट भएको सहयोग प्रति आभार प्रकट गरिन् । उनले व्यवसायी, ट्राफिक प्रहरी र समुदाय मिलेर नै सावरी दुर्घटना न्युन गराउन सकिने अपेक्षा राखिन् ।

उक्त अवसरमा पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले व्यवसायीले व्यवसाय मात्र नगरी मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न कार्यक्रम गर्ने क्रममा किट हस्तान्तरण गरिएको जानकारी दिए । उनले मापसेको चेकजाँच भएपनि लापसे र लागुपदार्थको चेकजाँच कम हुने र चालकलाई मर्यादित बनाउनका लागि सामग्री उपयोगी हुने धारणा राखे । आगामी दिनमा पनि यस्ताखालका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताएका छन् ।

किट हस्तान्तरण कार्यक्रममा पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक देवी प्रसाद कुइँकेल, सञ्चालक क्याम नारायण भट्टराई, कम्पनी सचिव जीवनप्रसाद पौडेल, क्यु प्रमुख लक्ष्मीकान्त ढकाल र प्रविधि प्रमुख सुरज श्रेष्ठ लगायतको सहभागिता थियो ।

  • ५ जेष्ठ २०८२, सोमबार १६:४५ प्रकाशित