ठूलो परिमाणमा सुनचाँदीका गहनासहित पोखरामा पाँच जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका विभिन्न वडा र तनहुँमा समेत गरेर ठूलो परिमाणमा चोरी भएका सुनचाँदीका गरगहनासहित पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी गरेका उनीहरुलाई चोरी गरेको सुन र चाँदीका गहनासहितका समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी १० शांखे घरभई ठेक्का पट्टको काम गर्ने २६ वर्षीय कट्टप्पा भनिने सुवास विक, सोही ठाउँका ड्राइभर काम गर्ने २३ वर्षीय बिमल बिक, शुक्लागण्डकी ११ का कालिगढ काम गर्ने २२ वर्षीय गणेश सुनार, पुतली बजार ९ काल्खु घर भई हाल पोखरा २ बस्ने कालिगढ काम गर्ने २३ वर्षीय सुरेश विक र सोही ठाउँ घर भई हाल पोखरा १० रामबजारमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय दुर्गा बहादुर थापा  छन् । उनीहरुलाई विभिन्न ठाउँमा चोरी भएको उजुरी पस्चात अनुसन्धानका क्रममा पक्राउ गरिएको हो ।

एसपी ओलियाका अनुसार कट्टप्पालाई पोखरा २६ बुढिबजारबाट २९ वैशाखमा, बिमललाई २६ वैशाखमा पोखरा ३२ मजुवाबाट, गणेशलाई ३१ वैशाखमा पोखरा, १० गौरीमार्ग र सुवासलाई ३१ वैशाखमा पोखरा १० गौरीमार्गबाट र दुर्गालाई ३१ वैशाखमा पोखरा १० गौरीमार्गबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १२ तोला ८ लाल बराबरको विभिन्न सुनका गहना, २४ तोला बराबरको चाँदीका विभिन्न गहनासहित सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्नी र गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टा बरामद भएको छ । यो अहिलेको बजार भाउ अनुसार झण्डै २२ लाख ६३ हजार ८ सय  रुपैयाँ बराबर हो ।

कट्टप्पा भनिने सुवास विकको योजनामा चोरी भएको प्रहरीले बताएको छ । प्रहरी प्रमुख एसपी ओलियाका अनुसार कटप्पा यस अगाडी भिभिन्न चोरी केसमा तनहुँमा पाँच वर्ष जेल सजायँ भोगेर कतार गएका थिए । त्यहाँपनि विभिन्न काण्ड घटाएका उनले नेपाल फर्केपछि फेरी चोरी धन्दा चलाएका हुन् ।

के कुन परिमाणमा समातियो ?

पक्राउ परेकाहरुको साथबाट बरामद भएका सुनका गरगहनामा छड्के तिलहरी १ थान पोते सहितको, ३ थान बन्दै गरेको, माईली तिलहरी – ३ थान, सानो तिलहरी – १ थान, चन्द्र पोते – ५ थान, मोती माला – ५ थान, चन्द्रमा – ५ थान, गेडी पोते ३ थान, मंगलसुत्र – ४ थान, नौ गेडी – १ थान, १ गेडी – २ थान, पेन्डम माला – ७ थान रहेको छ ।

यसैगरी रातो स्टार पोते – ६ थान, सिक्री – १ थान, औंठी – ७ थान, चिम्टी काँटा – ४ थान, पञ्चरत्ने बाला – १ थान, टप – ४ जोर, फूली – ६ थान, कानको ढुम्री – १ जोर, सुनका टुक्रा (ढिक्का) –५ थान सुनका ससाना टुक्राहरु छन् ।

चाँदीका गरगहनामा औंठी – ३ थान, पथ्थर सहितको सिक्री – १ थान, सानो बाला – ३ जोर, ठूलो बाला (रैया) – १ जोर, पाउजु – ३ जोर, सिक्री – १ थान, पञ्चरत्ने बाला – १ जोर, चुरी – १ थान र चाँदीका टुक्राहरु – ४ थान बरामद गरिएको हो ।

  • २ जेष्ठ २०८२, शुक्रबार १३:०७ प्रकाशित