सिण्डिकेट लाद्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरू विरोधमा उत्रिए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन अपिल गरेको हो ।

केही सिमित मेनपावर व्यवसायीहरूले मलेसियामा रोजगारीका लागि कामदार पठाउन सिण्डिकेट लगाउन खोजेको भन्दै संघले हस्ताक्षर अभियान नै चलाएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियामा जबर्जस्ती सिण्डिकेट लाद्न खोजिएको भन्दै आपत्ति जनाए ।

सीमित मेनपावर कम्पनीहरूलाई मात्र मलेसियामा कामदार पठाउने अनुमति दिने प्रयास भइरहेको बताउँदै यस्तो सिण्डिकेट प्रणालीले श्रम बजारमा असमान प्रतिस्पर्धा सिर्जना गर्ने बताए । जबर्जस्ती सिण्डिकेट लाद्नेलाई रोक्न तयार रहेको रहेको बताउँदै कुनै व्यवसायीहरूसँग कुनै तथ्य भएको खण्डमा जानकारी दिन अनुरोध गरे ।

मलेसियामा स्वास्थ्य व्यवसायीको क्षेत्रमा सिण्डिकेट लगाउने समूहले नै रोजगार व्यवसाय क्षेत्रमा समेत सिण्डिकेटको प्रयास गरिरहेकमो व्यवसायीहरूको भनाइ छ । संघका पूर्वअध्यक्ष रोहन गुरुङले व्यवसायीहरूलाई सिण्डिकेटविरुद्ध एकजुट हुन आग्रह गरे ।

यस्तो प्रवृत्तिले अन्य देशमा पनि असर पार्ने खतरा रहेको बताउँदै उनले त्यसका विरुद्धमा व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बताए । हाल ३६ वटा स्वास्थ्य संस्थामार्फत मात्र मलेसिया जाने श्रमिकको परीक्षण हुदै आएको छ ।

संघले उक्त कार्यको समेत विरोध गर्दै आएको छ ।

  • १ जेष्ठ २०८२, बिहीबार १६:३१ प्रकाशित