‘राइड सेयरिङ नियमावली’ गण्डकी सरकारको केटाकेटीपन : यातायात व्यवसायी

निजी सवारीसाधनलाई भाडामा यात्रु बोक्न दिने निर्णय संघीय ऐन विपरित, तत्काल बैठक बसेर आन्दोलनमा जाने निर्णय गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी जारी गरेको ‘राइड सेयरिङ’ नियमावली प्रति पोखराका यातायात व्यवसायीले आपत्ति जनाएका छन् ।

यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा आन्दोलनमा उत्रेका यातायात व्यवसायीले अहिले कार्यविधि नभई राइड सेयरिङ सम्बन्धी अलग्गै नियमावली ल्याएको प्रति अपत्ति जनाएका हुन् ।

देशमै धेरै यात्रुबहाक बस सञ्चालन गर्ने मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले राइड सेयरिङ सम्बन्धी प्रदेश सरकारले ल्याएको नियमावलीलाई ‘केटाकेटी पनको पराकाष्ट’ भनेका छन् । उनले प्रदेश सरकारले कानुनले जे नगर्नु भनेको छ, त्यही गरेको आरोप लगाए । ‘संघीय ऐनसंग बाझिनेगरी कुन बर्गलाई सेवा गर्न प्रदेश सरकारले यो नियमावली ल्याएको हो ?’ उनले प्रश्न गरे ।

अध्यक्ष केसीले प्रदेश सरकारले नियमावली बनाएर बाटो खोलेपछि अब आफूहरुका सार्वजनिक सवारी साधनलाई पनि प्राइभेट नम्बर प्लेटका सवारीमा परिणत गर्ने बाटो खुलेको र नगरिए आन्दोलन हुने चेतावनी दिए । ‘प्रदेश सरकारले प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई यात्रु बोक्ने बाटो खोलेर हामीलाई पनि प्राइभेट नम्बर प्लेटमा लैजान बाटो खोलेको छ ।

अब हामी प्राइभेट नम्बर प्लेटमा हाम्रा साधनलाई रुपान्तरण गछौं । रुट प्रमिट लिने, जेष्ठ नागरिकलाई छुट दिने, अपांगता भएका नागरिकलाई छुट दिने र विद्यार्थीलाई छुट दिनेजस्ता झन्झट हामीले बेहोर्नु नपर्ने भयो । यदि हामीलाई पनि रातो नम्बर प्लेटमा जान नदिए आन्दोलनमा उत्रन्छौं’ उनले भने ।

उनले आन्दोलन कस्तो बनाउने भन्ने विषयमा भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसंग बसेर नै टुंग्याइने जानकारी दिए ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले एप्समा जाने र प्रविधिको प्रयोग गर्ने विषयमा आफूहरु पहिलेदेखि नै सहमत भएपनि निजी सवारी साधनमा जुनसुकै बहानामा यात्रु बोक्ने कूराको आफूहरुले बिरोध गर्ने बताए । उनले प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशमा राइड शेयरिङलाई बैधता दिनेगरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पास गरेको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियमावली पारित भएको र यो तत्कालै कार्यान्वयनमा जाने बताएका छन् ।

योसँगै गण्डकीमा निश्चित मापदण्ड पूरा गरेर निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने भएका छन् । राइड शेयरिङ सेवा सुरु गर्नुअघि प्रदेश सरकारबाट इजाजत लिनुपर्नेछ । नियमावलीमा राइड शेयरिङ, सेल्फ ड्राइभ सेवा दिने संस्थाले अनुमति र नवीकरणको व्यवस्था छ ।

अनुमति लिँदा दुईपांग्रे सवारीले २५ हजार तिर्नुपर्छ भने चारपांग्रेले ५० हजार तिर्नुपर्छ । दुईवटै सेवा दिन चाहने कम्पनीले ७० हजार रुपैयाँ तिरेर अनुमति लिनुपर्छ । नवीकरणका लागि भने अनुमतिको ५० प्रतिशत शुल्क वार्षिक लाग्छ ।

दुईपांग्रेलाई १२ हजार ५ सय, चारपांग्रेलाई मात्रै २५ हजार र दुईवटै सवारी चलाउन चाहनेले ३५ हजार तिरेर नवीकरण गर्न मिल्छ । आर्थिक ऐनमा अन्य व्यवस्था भए सोही बमोजिम कार्यान्वयन हुने नियमावलीमा उल्लेख छ । राइड शेयरिङ, सेल्फ ड्राइभ सेवा प्रदायक कम्पनीले सवारी साधन दर्ता गरेवापत प्रति सवारी साधन यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क समेत तिर्नुपर्छ ।

यसमा दुई पांग्रेका लागि ५ हजार र चार पांग्रेका लागि २० हजार शुल्क तोकिएको छ । तर सार्वजनिक सवारीको रुपमा दर्ता भएका साधनको हकमा तोकिएको शुल्कमा २५ प्रतिशत शुल्क छुट दिने व्यवस्था गरिएको छ ।

कम्पनी बाहेक सवारी धनीले पनि छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था नियमावलीमा छ । दुई पांग्रे र चार पांग्रे दुवै सवारीले सिसि अनुसार नवीकरण शुल्क र सोही अनुसार थप शुल्क लाग्नेछ । आर्थिक ऐनमा राइड शेयरिङ वा सेल्फ ड्राइभ सेवामा आवद्ध हुने सवारी धनीले प्रति सवारी प्रति वर्ष सवारी साधनको नवीकरण शुल्क छुट्टै तोकेको खण्डमा सोही अनुसार शुल्क तिर्नुपर्ने व्यवस्था छ । यसरी चलाउनका लागि दर्ता गरेपछि सवारी साधन संख्या हेरफेर भए तोकिएको समयभित्र इजाजतपत्र अद्यावधिक गर्नुपर्छ ।

पारित भएको नियमावली कार्यान्वयन भए नभएको अनुगमन गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुनेछ । सदस्यहरूमा मुख्यमन्त्री कार्यालयका प्रतिनिधि, सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, उपभोक्ता हितसँग सम्बन्धित संस्थाहरुमध्ये मन्त्रालयले मनोनीत गरेको एकजना प्रतिनिधि सदस्य हुनेछन् भने सम्बन्धित महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

इजाजत विना राइड शेयरिङ सञ्चालन गरे कानुन अनुसार कारबाहीको व्यवस्था छ । नियमावली बमोजिम सेवा प्रयोजन थप नगरी सेवा सञ्चालन गरे पहिलो पटकका लागि दुई पांग्रेलाई ५ हजार र चारपांग्रे सवारीलाई १० हजार जरिवाना तोकिएको छ । दोस्रो पटकदेखि भने जरिवाना दोब्बर हुने व्यवस्था नियमावलीमा उल्लेख छ ।

 

  • ३१ बैशाख २०८२, बुधबार २०:३८ प्रकाशित