भारत–पाकिस्तानबीच जारी तनावमा नेपालको धारणा सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपालको सधैं साथ रहेको धारणा सार्वजनिक गरेको हो ।

भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडीमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ । सरकारले दुई देशबीचको तनाव कम होस् भन्ने चाहेको उल्लेख गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

 

  • २५ बैशाख २०८२, बिहीबार २०:२० प्रकाशित