पोखरा ।
फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १७ मुस्ताचोक वस्ने २१ वर्षीय नेत्र गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार उनलाई उद्दार गरेर पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
उनी तालपारी यात्रु छाडेर आउने क्रममा हावाहुरी चलेका कारण डुंगा पल्टिएर घाइते भएका हुन् । उनीसहित तालमा फसेका अन्य ७ जनाको सकुशल उद्दार गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्दार गरेको हो ।
बोटिङ गरिरहेको अवस्थामा तालको बीच भाग तर्फ नै रहेका भारत घर भएका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीय नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराका नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।
उनीहरुलाई त्यस लगत्तै उद्दारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।














