पोखरा ।
पोखरा महानगरका कर्मचारी तथा व्यवसायी माथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले पक्राउको पुष्टि गरे।
डीएसपी बस्नेतका अनुसार कास्की प्रहरीले बुधबार अपरान्ह ४ बजे पोखरा १६, ढिकीडाँडाबाट उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष पराजुली विरुद्ध उनकै टोल पोखरा ४, सर्वेश्वर मार्गमार्गका व्यवसायी लेखनाथ सुवेदी तथा पोखरा महानगरका कर्मचारी ईश्वरी पौडेलमाथि हातपात गरेको उजुरी परेको थियो ।
मंगलबार दिउसो सुवेदी कस्मेटिक स्टोरका संचालक लेखनाथ सुवेदीलाई उनकै पसल नजिक र त्यस अगाडि महानगर पालिकाका प्रशासकीय अधिकृत (अधिकृत सातौं) इश्वरी पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँकै कार्यकक्षमा वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए ।
सडकमा सामान राख्न नपाइने नियमानुसार सामान उठाएपछि सुवेदीले नगर प्रहरीसँग बाहिर राखिएको सामान भित्र लैजाने प्रक्रियामा रहेको तथा आफूले भर्खरै ग्राहकलाई सामान बेचेको बताउँदै नियन्त्रणमा लिइएको सामान फिर्ताको माग गरेका बेला वडाध्यक्ष पराजुलीले सुवेदीलाई सडकमा किन सामान राखेको, हटाऊ भनेका थिए । त्यसक्रममा केही भनाभन हुँदा आफूमाथि हातपात भएको सुवेदीले बताएका छन् ।
वडाध्यक्ष पराजुलीले सुवेदीले नै आफूलाई अपशब्द बोल्दै तलाई देखाइदिन्छ भनेर हातपातको प्रयास गरेपछि आफूले प्रतिकार गर्दा लागेको हुनसक्ने प्रतिक्रिया दिएका छन् । सर्वेश्वर मार्गका व्यवसायीले घटनालगत्तै मंगलबार केहीबेर सटर नै बन्द गरेर वडा कार्यालय परसरमा नारावाजी समेत गरेका थिए ।
यता मंगलबार बिहान करिव ११ः ३० बजेको समयमा वडाध्यक्ष पराजुलीले प्रशासकीय अधिकृत पोखरेलमाथि हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी युनियनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्।
चार वटै संगठनका अध्यक्षद्वारा जारी विज्ञप्तिमा २४ घण्टाभित्र कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका दिइएको छ । उनीहरुले आक्रमणको विरोधमा बुधबार महानगरपालिका र महानगरका सबै वडाको दैनिक कामसमेत रोकेका थिए । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।















