अब बैंक नोट बाहेकका सबै छपाइका काम नेपालमै : सञ्चारमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् ।

बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको जानकारी गराए ।

जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ ।

‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यान पावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ,’ उनले भने ।

मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए । बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने उनले बताए ।

  • २४ बैशाख २०८२, बुधबार १६:५९ प्रकाशित