सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत– पाकिस्तानको तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व परराष्ट्रमन्त्री साउदले दुई देशबिचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउदले छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बिचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।

  • २४ बैशाख २०८२, बुधबार १४:२९ प्रकाशित