वडाध्यक्ष पराजुलीले व्यवसायी कुट्नु अगाडि कर्मचारीलाई पनि गरेका थिए हातपात !

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार पराजुली मार्गका व्यवसायी लेखनाथ सुवेदी माथि हातपात गर्नुअगाडी महानगर पुगेर कर्मचारी माथि समेत हातपात गरेका खुलेको छ । विहान करिव ११ : ३० बजेको समयमा महानगरपालिका प्रशासकीय अधिकृत (अधिकृत सातौं) इश्वरी प्रसाद पोखरेल माथि हातपात गरेका खुलेको हो ।

उनले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँकै कार्यकक्षमा पोखरललाई हात हालेका खुलेको छ । पोखरा महानगर पालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले आफू एक कार्यक्रममा रहेको र वडाध्यक्ष पराजुलीले त्यही कार्यक्रमकै विषयलाई लिएर प्रशासकीय अधिकृतलाई हातपात गरेको जानकारी आएको बताए । ‘म कर्मचारीर्कै लागि सञ्चालित ओरण्टेसन कार्यक्रममा व्यस्त थिएँ ।

वडाध्यक्ष ज्युले प्रशासकीय अधिकृत ज्युलाई हाकीम साव (प्रमुख प्रशासकीय अधिकृत) कै अगाडि हातपात गर्नुभयो भन्ने जानकारी मलाई गराइएको छ । मलाई यहाँभन्दा धेरै जानकारी भएन,’ उनले भने । महानगरका एक कर्मचारीका अनुसार वडाध्यक्ष पराजुलीले प्रशासकीय अधिकृत पोखरेलको कठालो समातेर कमिजको टाँकहरु चुँडाइदिएका थिए । त्यस लगत्तै प्रमुख प्रशासकीय अधिकृत चौलागाइँले छुट्याउँदै सम्झाएर पठाएका थिए ।

यसपछि उनले दिउँसो पोखरा ४ को पराजुली मार्गका व्यवसायी सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि हातपात गरेका थिए । त्यसको विरोधमा व्यवसायीले केहीबेर वडा नम्बर ४ को कार्यालय परिसरमा नारावाजी गरेका थिए भने कुटाइ खाएका व्यवसायीले जिल्ला प्रहरी कार्यालय कास्कीमा अभद्र व्यवहारमा पराजुली विरुद्ध जाहेरी दिएका छन् । तर, जाहेरी भने दर्ता नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । ‘उहाँहरु (व्यवसायी) ले जाहेरी दिनुभएको छ । दर्ता भएको छैन । भोलि (बुधबार) छलफल गरेर अगाडि बढ्ने भन्ने छ’ उनले भने ।

कुटाइ खाएका सुवेदीले आफूले ग्राहकको सामान पठाउन पेटीमा समान निकालेका बेला नगरप्रहरीसहित आएका वडाध्यक्ष पराजुलीले आक्रमण गरेको जानकारी दिए । ‘ग्राहकको सामान निकलेर पेटीमा राखेको थिएँ । पसलको सामान पनि गोदामबाट भित्र राख्ने क्रममै थिएँ । ग्राहक पनि आएकाले व्यापार पनि गर्नै पर्यो । नगरप्रहरी आएको रहेछ । मलाई त्यो पनि थाहा थिएन ।

सामान उठाएर लगिदिएपछि ग्राहकको सामान मात्र भएपनि फिर्ता दिन आग्रह गर्दा वडाध्यक्ष त्यहीँ हुनुहुँदो रहेछ । उहाँले सार्वजनिक स्थलमै मलाई आक्रमण गर्नुभयो । यसरी दिनदहाडै जनप्रतिनिधिले नै आक्रमण गर्छन् भने हाम्रो सुरक्षाको ज्ञारेन्टी कसले लिन्छ,’ उनले भने । व्यवसयीहरुले वडाध्यक्ष पराजुलीले मदिरा सेवन गरेर आक्रमण गरेको दाबी गरेका छन् ।

यता वडाध्यक्ष पराजुलीले आफूमाथि नै आक्रमणको प्रयास भएकाले सामान्य प्रतिकार गरेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायी सुवेदीले आफूमाथि अपशब्द बोलेको र देखाइदिने चेतावनी दिएको बताए । ‘फूटपाथमा सामान नराख्न भनेर महानगर र वडाको तर्फबाट यस अगाडि नै सूचित गर्दै आएको हो ।’

टेलिफोन सम्पर्कमा उनले भने, ‘आज नगरप्रहरी पनि आएको थियो । नगर प्रहरीलाई मैले नै बोलाएको भन्दै म माथि अपशब्द बोल्दै देखाइदिने चेतावनी दिँदै औंला ठड्यार आक्रमण गर्ने प्रयास भयो मैले त्यसको प्रतिवाद गरेको मात्र हो । अरु मलाई थाहा भएन ।’

 

 

 

  • २३ बैशाख २०८२, मंगलवार १९:४५ प्रकाशित