वडाध्यक्ष पराजुलीले व्यवसायी कुटेको आरोप

पोखरा-४ को कार्यालय परिसरमा व्यवसायीको नाराबाजी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय घेराउ गरेका छन् । मंगलबार दिउँसो ३ : १५ बजे सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि आक्रमण भएको भन्दै व्यसायीहरु व्यवसाय बन्द गरेर वडा कार्यालयमा पुगेर नारावाजीसहित घेराउ गरेका हुन् ।

कुटाइ खाएका सुवेदीले आफूले ग्राहकको सामान पठाउन पेटीमा समान निकालेका बेला नगरप्रहरीसहित आएका वडाध्यक्ष पराजुलीले आक्रमण गरेको जानकारी दिए । ‘ग्राहकको सामान निकलेर पेटीमा राखेको थिएँ । पसलको सामान पनि गोदामबाट भित्र राख्ने क्रममै थिएँ । ग्राहक पनि आएकाले व्यापार पनि गर्नै पर्यो । नगरप्रहरी आएको रहेछ । मलाई त्यो पनि थाहा थिएन ।

सामान उठाएर लगिदिएपछि ग्राहकको सामान मात्र भएपनि फिर्ता दिन आग्रह गर्दा वडाध्यक्ष त्यहीँ हुनुहुँदो रहेछ । उहाँले सार्वजनिक स्थलमै मलाई आक्रमण गर्नुभयो । यसरी दिनदहाडै जनप्रतिनिधिले नै आक्रमण गर्छन् भने हाम्रो सुरक्षाको ज्ञारेन्टी कसले लिन्छ,’ उनले भने । व्यवसयीहरुले वडाध्यक्ष पराजुलीले मदिरा सेवन गरेर आक्रमण गरेको दाबी गरेका छन् ।

यता वडाध्यक्ष पराजुलीले आफूमाथि नै आक्रमणको प्रयास भएकाले सामान्य प्रतिकार गरेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायी सुवेदीले आफूमाथि अपशब्द बोलेको र देखाइदिने चेतावनी दिएको बताए । ‘फूटपाथमा सामान नराख्न भनेर महानगर र वडाको तर्फबाट यस अगाडि नै सूचित गर्दै आएको हो ।’

टेलिफोन सम्पर्कमा उनले भने, ‘आज नगरप्रहरी पनि आएको थियो । नगद प्रहरीलाई मैले नै बोलाएको भन्दै म माथि अपशब्द बोल्दै देखाइदिने चेतावनी दिँदै औंला ठड्यार आक्रमण गर्ने प्रयास भयो मैले त्यसको प्रतिवाद गरेको मात्र हो । अरु मलाई थाहा भएन ।’

  • २३ बैशाख २०८२, मंगलवार १७:५२ प्रकाशित