एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

केन्द्रभाग मिडिया

धनुषा ।

नयाँ नेतृत्व चयनका गर्न सुरु भएको नेकपा एमाले धनुषाको अधिवेशनमा झडप हुदाँ ५ जना घाईते भएका छन् । दुई समूहबिच झडप भएपछि मङ्गलबारका लागि तय भएको मतदान स्थगित भएको छ ।

मङ्गलवार बिहान १० बजेदेखि मतदानको कार्यतालिका सार्वजनिक भएको थियो । तर, उम्मेदवारी दर्तामै धाँधली भएको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा झडपको रूप लिएको हो । स्थिति सहज नभएपछि मङ्गलवारका लागि तय भएको मतदान स्थगन गर्नुपरेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन स्थलमा एकपक्षले अर्को पक्षलाई कुर्सी हानाहान गर्दा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् । एमालेतर्फ सत्यनारायण महासेठ र महेश दास घाइते भएका हुन् । निर्वाचन समितिले एकपक्षीय रूपमा काम गरेको भन्दै एक पक्ष धर्ना बसेपछि अर्को पक्षले विरोध गर्दा पहिलो पटक झडप भएको थियो । त्यसपछि जसपाका विद्यार्थी नेता समेत अधिवेशनमा पुगेपछि दोस्रो पटक पुन झडप भएको थियो ।

जिल्ला अध्यक्ष राजकिशोर यादवले रघुवीर महासेठ आफै अधिवेशन स्थलमा गएर निर्वाचन समितिलाई प्रभावमा पार्न खोजेपछि विवाद बल्झिएको बताए ।

‘महासेठले निर्वाचन समितिलाई प्रभावमा पारेपछि विवाद भएको हो’, अध्यक्ष यादवले रातोपाटीसँग भने । निर्वाचनका क्रममा धाँधली गरेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी यादवको समूह न्यायिक छानबिनको माग गर्दै धर्ना सुरु गरेको थियो । एमाले धनुषाको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो ।

  • २३ बैशाख २०८२, मंगलवार १७:०० प्रकाशित