वासिङ्टन डीसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य बल लगाएर भए पनि ग्रिनल्यान्डलाई अलग्याउने धम्की दिएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यस्तो भनेका छन् । यस क्रममा उनले डेनमार्कको स्वामित्वमा रहेको उक्त भूभागलाई अमेरिकाको हिस्सा बनाउने कुरा अस्वीकार पनि गरेनन् ।
ट्रम्पले बारम्बार ग्रिनल्यान्डबारे अभिव्यक्ति दिइरहेका छन् । अमेरिकालाई राष्ट्रिय सुरक्षाको उद्देश्यले सो टापु देश चाहिएकोमा उनले जोड दिएका थिए । उनले सैन्य बल लगाएरै भए पनि ग्रिनल्यान्ड लिने कुरा पनि बारम्बार गरेका छन् ।
‘म यस्तै गर्छु भनेर त मैले भनेको छैन, तर यस्तो नगर्ने सम्भावना पनि छैन’ एनबीसीका क्रिष्टन वेल्करसँगको अन्तरवार्तामा उनले भने । ‘हामीलाई ग्रिनल्यान्डको निकै खाँचो छ, ग्रिनल्यान्डमा त्यति थोरै त मानिस छन् । तिनीहरूको ख्याल हामी राख्नेछौँ । अझ हामी उनीहरूलाई राम्रोसँग राख्नेछौँ । तर हामीलाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड चाहिएको छ’ अझ अगाडि उनले भने ।















