काठमाडौं।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आएका छन् ।
उनीहरूसँग सोमबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा देउवाले भने, ‘पीडितको प्रतिनिधित्व गराउने जिम्मा म लिन्छु, जान्न नभन्नुहोला, बरु मलाई दुईजनाको नाम दिनुस् ।’
देउवाले संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधलाई नभेटेर सिफारिस समिति चुकेको भन्दै आयोगहरूमा पीडित पक्षबाट प्रतिनिधित्व गराइछाड्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी देवी खड्काले जानकारी दिइन् ।
देउवालाई ध्यानाकर्षण पत्र बुझाउन खड्कासँगै डा। राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणिन्द्र लुइँटेल बूढानीलकण्ठ पुगेका थिए ।














