पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँग आइतबार अन्तरक्रिया गरेको छ।
अन्तरक्रियाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलार्इ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था भए अनुसार कार्यान्व्यन गर्न आग्रह गरे ।
पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गरे । उनले बालगृह सहित राज्यद्वारा नियन्त्रीत र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऎन ,कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गरे ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऎन,न्युनतम पारिश्रमिक सहित र सबै कामदारलाई सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने बताए ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले कास्कीका बालगृहहरूको वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी दिएका थिए । राष्ट्रिय बाल अधिकार परिषद काठमाडौंको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र स्वागत उप प्रमुख सरिता माल तथा सहिजकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
कार्यक्रममा कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरू ,सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।














