सुरुभयो कक्षा १२ को परीक्षा, हल्का झरीका बीच उत्साहपूर्वक सहभागी (तस्बिरसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ ।  हल्का झरीका बिचमा पोखरामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखिएको छ । आगामी २ जेठसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिएका छन् । बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् ।

देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा सहभागी छन् ।

यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार एक सय ३३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

यस वर्ष कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी कक्ष १२ को परीक्षामा सहभागी हुँदैछन् ।

त्यसैगरि कोसी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेसबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम भएको बोर्डले जनाएको छ ।

  • २१ बैशाख २०८२, आईतवार ०८:११ प्रकाशित