पोखरा ।
पोखरा महानगरपालिका वडा नं- २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल (इभी) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल गरेका हुन् । यो ‘ईभी गो’ फाष्ट चार्जिङ स्टेसनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।
श्रेष्ठका अनुसार, यो स्टेशनमा एकैपटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा छ। ‘हामीले यात्रुहरूको सहजताका लागि यो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हौं। आवश्यकता अनुसार भविष्यमा थप चार्जरहरू पनि जडान गर्ने योजना छ,’ उनले भने ।
यो चार्जिङ स्टेशन विशेष गरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरू र कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुहरूलाई लक्षित गरेर बनाइएको हो। बागलुङ राजमार्गमा पर्ने यो स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूको यात्रा अझ सहज र भरपर्दो हुने यात्रुहरूले अपेक्षा गरेका छन्।
चार्जिङ स्टेशनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्ता अनुकूल इन्टरफेससहितको चार्जर जडान गरिएको छ । पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेशनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पुर्याउने विश्वास लिइएको छ ।
स्थानीय बासिन्दा र मुक्तिनाथ दर्शन गर्न इभी गाडी लिएर हिँडेका श्रद्धालुहरूले पनि यो स्टेसन खोलेपछि निकै सहज भएको र धन्यवाद र आशीर्वाद पनि दिएका छन् । यो सुविधाको स्वागत गर्दै आगामी दिनमा यस्ता चार्जिङ स्टेशनहरू थप विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।















