काठमाडौं ।
गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा गरिएको वार्तामा पनि सहमति जुट्न सकेन ।
आफ्ना मुख्य माग समेटेर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिएकी छन् । उनका अनुसार मन्त्रिपरिषद्बाट हल हुन सक्ने बुँदामा मंगलबार छलफल भएको छ । बुधबार फेरि छलफल गर्ने समझदारी भएको छ ।
मंगलबार राति ८ बजेदेखि चलेको वार्तामा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी भएको थियो । करिब ३ घण्टासम्म वार्ता चलेको भएपनि ठोस निस्कर्षमा पुग्न नसकेको हो ।
वार्तास्थलबाट निस्केपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशातर्फ अग्रसर रहेको र छिटोभन्दा छिटो टुंग्याउन प्रयत्नशील रहेको प्रतिक्रिया दिए ।
शिक्षक महासंघले सहमतिका लागि ९ वटा बुँदा सरकारसमक्ष प्रस्ताव गरेको छ। उक्त प्रस्तावअनुसार सरकारले निर्णय गरिदिए आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय महासंघले गरेको छ ।
कक्षा १२ को रोकिएको परीक्षाप्रति आफूहरु असाध्यै चिन्तित रहेको र अबको परीक्षामा सामेल हुने गरी निकासको खोजी भइरहेको सहअध्यक्ष पराजुलीको भनाइ थियो।















