पोखरा ।
पोखराको सिर्जनाचोकमा हालै सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको मंगलबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ८ को साविकको कार्यालय भवन सिर्जनाचोकमा स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा योग कक्षको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै मेयर आचार्यले निजी क्षेत्रबाट सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्साहरुको महानगरले नियमन गर्ने गरी निर्देशिका बनाउने बताए । महानगरले योग शिक्षक उत्पादन, योग गुरुहरुको अनुगमन गर्ने र दीर्घरोगीहरुलाई समेत सर्वसुलभ तवरले उपचार गर्ने सल्लाह सुझाव दिने बताउदै मेयर आचार्यले बेगनास र शिसुवामा यस अघि सञ्चालन भइरहेको आयुर्वेद चिकित्सालाई सिर्जनाचोकमा स्थापना गरिएको बताए । आगामी दिनमा हेमजामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा स्थापना गर्ने समेत तयारी रहेको बताउदै आचार्यले योग ध्यान प्रणयम जीवन पद्धति बन्नुपर्ने बताए ।
पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले पोखराको एक क्षेत्रमा मात्र सिमित रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई बिस्तार गर्ने उद्देश्यले पोखराको सिर्जनाचोकमा स्थापना गरिएको बताए । शहरी स्वास्थ्य केन्द्रमा योग चलिरहेको भएतापनि रोकिएको र अगामी दिनमा सिर्जना चोकमा नियमित योग कक्षाहरु समेत सञ्चालन हुने उनको भनाइ रहेको थियो ।
सो अवसरमा स्वास्थ्य जाँच समेत गरिएको थियो ।














