दुर्घटना न्युनिकरणमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रोत्साहन

७० जना असल चालकका छोराछोरीलाई शैक्षिक छात्रबृत्ति, विविध प्रर्वद्धनात्मक कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

देशकै ठूलो मध्येको एक यात्रुबहाक बस सञ्चालन गर्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई अगाडि सारेको छ । यसै अन्तर्गत कम्पनीले आफ्ना ७० जना चालकका छोराछोरीलाई मासिक २ हजारका दरले शैक्षिक छात्रविबृति प्रदानको प्रक्रिया अगाडि बढाएको छ ।

२० जना स्वरोजगार चालक र ५० जना चालकका छोराछोरीलाई यस्तो छात्रबृत्ति प्रदान गरिने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । यसका लागि दुई वर्षसम्म चालककोे प्रफमेन्सलाई हेरिने र दुईवर्षसम्म कुनै ट्राफिक नियम उलंघन नगरेको, दुर्घटना नगराएको हुनुपर्ने सर्त राखिएको छ ।

चालकले लापरबाही गरे यस्तो छात्रबृत्ति रोकिने समेत अध्यक्ष केसीले जानकारी दिए । दुर्घटना न्युनिकरण गर्न र मर्यादित रुपमा यातायात सञ्चालनका लागि कम्पनीले नै बेहोर्नेगरी यस्तो प्रवद्र्धनात्मक कार्यक्रम गरिएको उनको भनाई छ ।

दुर्घटनारहित समाज निर्माण गर्न र दुर्घटनाका कारण हुने जनधनको क्षतिबाट जोगाउनुका साथै पेशालाई मर्यादित बनाउनका लागि यस्ता कार्य गरिएको अध्यक्ष केसीले बताए ।

आफ्ना एक हजार ४०० बस मार्फत यात्रुलाई सेवा दिइरहेको कम्पनीले सार्वजनिक यातायातलाई व्यवस्थित राख्नुका साथै लोककल्याणकारी कार्यमा खेलकुद, स्वास्थ्य शिविर, रक्तदान, ट्राफिक जनचेतना मुलक कार्यक्रम लगायतका समाजिक उत्तरदायित्व बहनका कार्यक्रम गरेको छ । चालक र मजदुरका लागि छुट्टै राहतका कार्यक्रम रहेका उनले जानकारी दिए । सेयर सदस्यका लागि १० लाख दुर्घटना विमा र १ लाख स्वास्थ्य विमा गरेर ११ लाख बराबर बिमाको योजना छ ।

सवारीसाधन सञ्चालनको क्रममा कुनै चालकको ज्यान गुमेमा बिमा बाट पाउने ५ लाख बाहेक थप ३ लाख रुपैयाँ दिने, सेयर सदस्यका लागि स्वास्थ्य उपचारका लागि बिल भरपाईको आधारमा ६५ हजार रुपैयाँ उपलब्ध गराउने र दीर्घरोगका सन्दर्भमा १ लाख रुपैयाँ उपलब्ध गराइएको उनले बताए ।

यात्रुलाई सुरक्षीत गन्तव्यमा पुर्याउनका लागि चालकको स्वास्थ्य परिक्षणको पक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । राजमार्गमा आवद्ध रहेका सदस्यले दुर्घटनाका कारण अलग हुनुपर्ने अवस्थाको अन्त्य गराइएको उनको भनाई छ ।

 

  • १५ बैशाख २०८२, सोमबार १७:२५ प्रकाशित