एमाले छाडेकी चौधरीले राजावादी सभामा पुगेर भनिन : जबज त्रिशूलीमा बगिसक्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको बताएकी छिन । राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले त्रिशूली नदीमा जबज बगेको बताएकी हुन । चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् ।

उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् । पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् । सोही क्रममा सोमबार भृकुटिमण्डपमा आयोजना भएको सभालाई सम्बोधन गर्दै उनले एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको बताइन ।

उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् । राजसंस्था पुनरस्थापना नभइ राष्ट्रको भलो नहुने र देश समेत नजोगिने उनको तर्क थियो । देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको तर्क थियो ।

  • १५ बैशाख २०८२, सोमबार १६:२२ प्रकाशित