पोखरा ।
नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की प्रज्ञा संस्कृति पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर आइतबार जातीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नुब संस्थालाई सम्मान गरेको हो । दुबै संस्थाले आ–आफ्नो जातीय भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेकाले प्रत्येक संस्थालाई नगद ५०–५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
यसै अवसरमा प्रतिष्ठानले प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा. जगनाथ रेग्मीलाई, प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थलाई, प्रज्ञा संगीत सम्मानबाट संगीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङलाई, प्रज्ञा नारी सम्मानबाट रंगकर्मी प्रमिला तुलाचनलाई, प्रज्ञा युवा सम्मानबाट नाटककार केदार पौडेललाई र प्रज्ञा प्रोत्साहन सम्मानबाट सरला लामिछाने (सरु) लाई सम्मान गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानले आफ्नो चार वर्षे यात्रामा सम्पन्न गरिएका उत्कृष्ट कार्यक्रमहरूको समेटिएको ३३ मिनेटको डकुमेन्ट्री पनि सार्वजनिक गरेको थियो । अभावका बीच स्थापना भएको प्रतिष्ठानले गण्डकी प्रदेशमा भाषा, साहित्य, लोक साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा बलियो आधार बनाएको उल्लेख गरिएको छ । पृथ्वीनारायण क्याम्पस हाताभित्रको सामान्य भवनमा सुरुवात गरेको प्रतिष्ठानले हाल आफ्नै सभाहललाई प्रविधिमैत्री बनाउँदै कार्यक्रम आयोजना गर्ने सुबिधा विस्तार गरेको छ ।
प्रतिष्ठानले गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जात, जाति, भाषा, धर्म तथा संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनका लागि अनुसन्धान, प्रकाशन तथा कार्यशालाहरू आयोजना गर्दै आएको छ । साथै, प्रतिष्ठानले तिर्थ श्रेष्ठ, प्रकाश घिमिरे, प्रजापति पराजुली, प्राडा. रविलाल अधिकारी, बुद्धिप्रसाद गुरुङ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल (वात्स्यायन), डा. जगमान गुरुङ, हरिदेवी कोईराला, श्यामसुङ तामाङ, माधव वियोगी र अनुप बरालजस्ता साहित्यिक स्रष्टाहरूको जीवनीसमेत प्रकाशन गरिसकेको छ ।














