काठमाडौं ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रति आक्रोश प्रकट गर्दै सत्तारुढ दल कांग्रेसका सांसदहरुले जवाफ मागेका छन् । अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत १५ मंसिरमा रक्सी चोरेपछि प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्तिप्रति कांग्रेसले आज संसदमा आक्रोश पोख्दै जवाफ मागेको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् रु त्यो राप्रपा अध्यक्ष लिङ्देनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।
‘नेपाली कांग्रेसका कुन चाहिँ सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने । लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् ।
तर, उनको उक्त अभिव्यक्तिपछि सह-महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर समाचार आएको थियो ।
तर, यादवका दुवै छोरा डाक्टर रहेको तर्क उनको छ । उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकाश र विकासले आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।














